जोडिनुहोस
  • होमपेज
  • नारायण गोपालको ३४ औँ स्मृति दिवसमा तीन श्रष्टा सम्मानित

नारायण गोपालको ३४ औँ स्मृति दिवसमा तीन श्रष्टा सम्मानित

काठमाडौं। स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ ।

नारायण गोपाल सङ्गीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ मार्फत सङ्गीततर्फ सङ्गीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशङ्कर थापालाई सम्मान गरिएको हो ।

स्वरसम्राट नारायण गोपालसँग सामिप्यता रहेका र सङ्गीतमा विशेष योगदान दिएका श्रष्टालाई योगदानको कदर स्वरूप जनही ५१ हजार र ताम्र पत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिए । ‘स्वरसम्राट नारायण गोपालको विषयमा हामीले जति चर्चा गरे पनि पुग्दैन’, उनले भने, ‘अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसङ्गीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ । उहाँले नेपालीलाई कालजयी गीत दिनुभएको छ ।’

अध्यक्ष केसीले बुधबार देशभर उनको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिए । उनले धुम्वाराहीमा नारायण गोपाल सङ्गीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताए ।

सम्मानित भएका सङ्गीतकार मुकारुङले नारायण गोपाल जस्तो व्यक्तिको नामसँग जोडिएको सम्मान पाउनु आफ्नो लागि विशेष महत्त्व रहेको बताए । उनले भने, ‘नारायण गोपाल सङ्गीतको विश्वविद्यालय हुनुहुन्छ । विगत छ दशकदेखि समकालीन सुरकर्मीसम्म उहाँको गीत पहिलो रोजाइमा पर्नुले उहाँको क्षमतालाई प्रस्ट्याउँछ । यस्ता धेरै कारणले उहाँ स्वरसम्राट हुनुभएको हो । यो सम्मान मेरो लागि अस्कर अवार्ड भन्दा ठूलो छ । उहाँको गीत प्रत्यक्ष सुन्न पाउनु, सामीप्यता राख्न पाउनु मेरा लागि गौरवको विषय हो ।’

‘सम्झनामा नारायण गोपाल’ अन्तर्गत श्रष्टाहरूले उनलाई गीतमार्फत सम्झिएका छन् । गायक दीव्यकुमार सिटौलाले ‘मलाई छोडी मेरै छायाँ‘’, गायक साजन लामाले ‘यति चोखो यति मिठो‘’, गायक राजेन्द्र श्रेष्ठले ‘गल्ती हजार हुन्छन‘..’, गायक महेन्द्र गुरुङ र रोजी श्रेष्ठले ‘ए कान्छा ठट्टैमा यो जोवन‘’, गायक सम्भव जङ्गम थापा र सङ्गीत तिमिल्सिनाले ‘मेरो जोवन लौजाउ‘’, गायक रामकृष्ण ढकालले ‘तिमीलाई भुल्दा‘’, गायक छिरिङ भुटियाले ‘मन्दिरमा छकी मूर्तिमा माया‘’ लगायत गीत प्रस्तुत गर्दै स्वरसम्राट नारायण गोपालको स्मरण गरे ।

वि.सं १९९६ असोज १८ गते जन्मीएका स्वरसम्राट नारायण गोपालको वि.सं २०४७ मङ्सिर १९ गते निधन भएको थियो । प्रत्येक वर्या मङ्सिर १९ गते उनी र गीतसङ्गीतलाई स्मरण गर्दै स्मृति दिवसलाई मनाउने गरिन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका