जनकपुरधाम। धनुषामा एक महिलाको वीभत्स हत्या भएको छ। धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो।
शीरछेदन भएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको थियो। उनको टाउको भने कमला नदीको नहरमा भेटिएको छ। शरीर नग्न अवस्थामा थियो। शरीर र टाउको भेटेको भन्दा सय मिटर पर रगत बगेको देखिएको छ।
धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ। हत्या भएकी महिलाको श्रीमान लामो समयदेखि वैदेशिक रोजागारमा छन्।
मृतकका कान्छो छोराका अनुसार मंगबार अपरान्ह रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन्। अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । तर त्यसको भोलिपल्ट रामपरीको वीभत्स हत्या भएको अवस्थामा शव फेला परेको हो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो। अहिले एक जनालाई मात्र हिरासतमा राखेर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।