समाचार
मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलामध्ये झन्डै आधाले कार्यस्थलमा दुर्व्यवहार भोग्न बाध्य
काठमाडौं। मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिलाहरूमध्ये झन्डै आधाले कार्यस्थलमा दुर्व्यवहार भोग्नुपरेको एउटा अध्ययनले देखाएको छ ।
शक्ति समूहले देशका तीन वटा शहर काठमाडौं, पोखरा र इटहरीमा गरेको अध्ययनमा संलग्नमध्ये ४६ प्रतिशतले कार्यस्थलमा कुनै न कुनै प्रकारको दुर्व्यवहार अनुभव गरेको बताएका अध्ययन प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ३० प्रतिशतले यौजनजन्य हिंसा सहनुपरेको पाइएको छ ।
तीन वटा शहरका गरी पाँच सय सात जना अध्ययनमा सहभागी थिए । सबैभन्दा धेरै पोखराका कामदारहरूमध्ये ६९ प्रतिशतले दुर्व्यवहार भोग्नुपरेको बताएका छन् । यस्तै काठमाण्डौमा ४५ र इटहरीमा २३ प्रतिशतले समस्या भोगेको बताएका छन् ।
क्षेत्र विशेषमा डान्सबारका ७३, दोहोरीका ५१, मसाज पार्लरका ३४, क्याबिनका ३० र खाजा घरका ३० प्रतिशत उत्तरदाताले दुर्व्यवहारको अनुभव गरेको बताएका प्रतिवेदनमा उल्लेख छ ।
मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका अनुसार ग्राहक, रोजगारदाता, सहकर्मी, पुरुष र महिला, प्रहरी, समुदायका सदस्य, श्रीमान्, प्रेमी, साथीहरू लगायतबाट दुर्व्यवहार हुने गरेको छ । यस्तै मनोरञ्जनको क्षेत्रमा काम गर्नेमध्ये ६ प्रतिशतसँग मात्रै कामको लिखित सम्झौता रहेको पाइएको छ ।
प्रतिवेदनले नेपालमा मनोरञ्जनको क्षेत्रमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को उचित कामको परिभाषाअनुसार काम नभएको देखाएको छ । श्रम कानूनको पालना नहुँदा धेरैजसो कामदारहरू समस्यामा पर्ने गरेका छन् ।