जोडिनुहोस
  • होमपेज
  • बीआरआई सम्झौता कांग्रेससँगको सहमतिमै भएको हो : गृहमन्त्री लेखक

बीआरआई सम्झौता कांग्रेससँगको सहमतिमै भएको हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल र चीनबीच बीआरआईसम्बन्धी थप सम्झौता नेपाली कांग्रेससँगको सहमतिमै भएको बताएका छन् । कांग्रेस कोसी प्रदेशको पहिलो सम्मेलनमा शनिबार विराटनगरमा उनले बीआरआई सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमै भएको स्पष्ट पारे ।

“नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआईसम्बन्धी थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारण, सल्लाह र सहमतिअनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन,” उनले भने ।

गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्न आर्थिक सहायता लिन आवश्यक रहेको उल्लेख गरे । बीआरआईमा ऋण लिने विषय नभएको उनले बताए । “कांग्रेसले ऋण लिन्नँ भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नुभएको छ । अब यसको ठिक कार्यान्वयनमा लाग्नुपर्छ,” उनले भने ।

कांग्रेस र एमालेको वर्तमान राजनीति समीकरणको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको पनि उनले बताए । “त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण केही मान्छेलाई मन्त्री बनाउन बनेको होइन,” उनले भने, “यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो ।”

संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउन संविधान संशोधन गरिने उनले बताए । संविधान संशोधनका निम्ति आन्तरिक छलफल सुरु भइसकेको उनको भनाइ छ ।

कांग्रेस र एमालेले सत्तासमीकरणलाई ०८४ को निर्वाचनसम्म पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

“वर्तमान व्यवस्थामाथि आक्रमण हुँदै छ । यो संविधानमाथि आक्रमण हुँदै छ । यसलाई सुरक्षित गर्नु कांग्रेसको पहिलो दायित्व हो,” उनले भने, “नेपाली कांग्रेस बलियो नभएर लोकतन्त्र र यो व्यवस्था बलियो हुँदैन । कोसी प्रदेशको प्रथम सम्मेलन बलियो, प्रभावकारी, नेतृत्वदायी कांग्रेस निर्माणमा कोसेढुंगा साबित हुनेछ ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका