काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुंगोमा पु¥याउन ‘दायाँ र बायाँ कोण’बाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएको उल्लेख गरे । सोही कारण केही ढिलो गरी भए पनि शान्ति प्रक्रियाका बाँकी काम राष्ट्रिय सहमतिबाट पूरा हुने उनले बताए ।
उनले वामपन्थीलाई एकै ठाउँमा ल्याउन शनिबार नै तीन दलसँग सकारात्मक छलफल भएको जानकारी दिए । अब एकताको विकल्प नभएको उनले बताए । उनले मुलुकको परिवर्तनको रक्षा र संविधानको ठिक ढंगले कार्यान्वयनका निम्ति पनि एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला निकै जोडबल गरेर शिक्षा विधेयक संसद्मा पु¥याएको भन्दै यसलाई पारित गराउन फेरि एकपटक जोड दिनुपर्ने बताए । विधेयक अझै पूर्ण नभएको उनको भनाइ छ ।
शिक्षक आन्दोलनका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गरिनुपर्नेमा उनले जोड दिए । त्यसका निम्ति शिक्षकहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिनु सही नै हुने उनले बताए ।
कार्यक्रममा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको थियो । योसँगै डा. बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । हिमालयन टेली भ्वाइस