अन्तर्राष्ट्रिय
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने– रुस–युक्रेन युद्धमा ४३ हजार युक्रेनी सैनिकले ज्यान गुमाए
काठमाडौं। रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गरेयता ४३ हजार युक्रेनी सैनिकले ज्यान गुमाएको तथ्यांक राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सार्वजनिक गरेका छन् ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा उक्त तथ्यांक सार्वजनिक गर्दै रुसी आक्रमणमा थप तीन लाख ७० हजार सैनिक घाइते भएको उल्लेख गरेका छन्। जेलेन्स्कीले युद्धमा अहिलेसम्म एक लाख ९८ हजार रुसी सेनाको मृत्यु भएको र करिब ५ लाख ५० हजार सेना घाइते भएको दाबी गरे।
नयाँ तथ्यांकले वर्षको सुरुदेखि नै युक्रेनी सेनाको मृत्युमा उल्लेख्य वृद्धि भएको देखाउँछ । पछिल्लो पटक जेलेन्स्कीले गत फेब्रुअरीमा ३१ हजार युक्रेनी सेनाले ज्यान गुमाएको जानकारी दिएका थिए ।
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका ४ लाख र रुसका ६ लाख सेना मारिएको वा घाइते भएको उल्लेख गरेपछि जेलेन्स्कीले नयाँ तथ्यांक सार्वजनिक गरेका हुन् ।
यसैबीच ट्रम्पले युद्धमा धेरै जीवन अनावश्यक रूपमा बर्बाद भएको भन्दै युद्धको अन्त्य गर्न चाहेको स्पष्ट पारेका छन् । युद्ध अन्त्यका लागि ट्रम्पले जेलेन्स्की र क्रेमलिनलाई युद्धबिरामका आफ्ना सम्भावित शर्तको सूची तयार पार्न आह्वान गरे । ट्रम्पले युद्ध अन्त्य गर्न पहल गरे पनि अहिलेसम्म दुवै पक्षले अफ्नो विस्तृत विवरण पेस नगरेको बताए । युद्धविराम गरी सम्भावित युद्ध रोक्न वार्ता सुरु गर्नुपर्ने ट्रम्पको भनाइ छ ।
यसको जवाफमा जेलेन्स्कीले शान्ति कागजको टुक्रा मात्र नभइ रुसी पक्षबाट आफूहरुले प्रत्याभूति चाहेको प्रतिक्रिया दिए । क्रेमलिनका प्रवक्ता दिमीत्री पेस्कोभले वार्ताका रुस लागि खुला रहेको र वार्ता सन् २०२२ मा इस्तानबुलमा भएको सम्झौतासँगै युद्धको मैदानमा हालको वास्तविकतामा आधारित हुनुपर्नेमा जोड दिए ।