सिरहामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया शुरू गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो ।
यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा र जिरा मसिनो (कतर्नी) धान प्रतिक्विन्टल चार हजार दुई सय रुपैयाँ तोकेको छ ।
जिल्ला प्राथमिक धान खरिद समितिको बैठकबाट निर्णय भएअनुसार समर्थन मूल्यमा धान खरिद गरिने प्रमुख सुनारले बताउनुभयो । कम्पनीले एक जना किसानबाट अधिकतम एक सय क्विन्टल धान खरिद गर्नेछ । सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयमा धान खरिद गरिने खाद्य कम्पनीले जनाएको छ ।
सरकारले दिने मूल्यभन्दा स्थानीय व्यापारीले दिने मूल्इ बढी भएकाले किसानहरू व्यापारीलाई धान बिक्री गर्न आकर्षित भएका राष्ट्रिय कृषक समूह महासङ्घ मधेश प्रदेशका निवर्तमान अध्यक्ष मुक्तिनारायण यादवले बताउनुभयो । किसानको उत्पादनको उचित र वैज्ञानिक मूल्य नदिएर सरकारले किसानलाई अन्याय गरेको उहाँको भनाइ छ ।