जोडिनुहोस
  • होमपेज
  • काठमाडौं १८ रनले विजयी, जारी प्रतियोगिताको लिग चरणबाटै बाहिरियो लुम्बिनी

काठमाडौं १८ रनले विजयी, जारी प्रतियोगिताको लिग चरणबाटै बाहिरियो लुम्बिनी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौं गुर्खाज विजयी भएको छ । लुम्बिनी लायन्सलाई १८ रनले हराउँदै काठमाडौं विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर दुई बलमा आफ्नो सबै विकेट गुमाउँदै १०३ रन मात्र बनाएको थियो । काठमाडौंका लागि ओपनर स्टिफन स्किनाजीले १३ रन बनाए । अर्का ओपनर माइकल लेभिट शून्य रनमै आउट भए । भीम सार्कीले ३१ रन बनाउँदा ड्यान डथवेटले २१ र प्रतीक श्रेष्ठले २० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

बलिङतर्फ लुम्बिनीका साद जाफरले तीन विकेट लिए । अभिशेष गौतम र रामोन सिमोन्ड्सले समान दुई विकेट लिए । सूर्य तामाङ र विवेक यादवले एक–एक विकेट लिए ।

सानो विजयी लक्ष्य बोकेर जवाफी ब्याटिङमा उत्रिएका लुम्बिनीका ओपनरद्वय आशुतोष घिरैया र अर्जुन साउद क्रमशः चार र तीन रनमा पभेलियन फर्किए । उन्मुक्त चन्द १४ रन बनाएर आउट भए । सन्दीप जोराले सर्वाधिक २६ रनको योगदान दिए । लुम्बिनी १९ ओभर दुई बलमा ८५ रनमा समेटियो ।

बलिङतर्फ काठमाडौंका कप्तान करण केसीले चार विकेट लिए । दीपेश कँडेलले तीन तथा जेरार्ड एरास्मसले दुई र राशीद खानले एक विकेट लिए ।

यो हारसँगै लुम्बिनी लायन्स जारी प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका