काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर विराटनगरले ब्याटिङ गर्दै छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर अंक तालिकाको पुछारमा छ । यस खेलमा पराजित भए ऊ प्रतियोगितबाट बाहिरिने छ । प्लेअफको अंकगणितीय सम्भावनालाई जीवितै राख्न विराटनगरलाई जित्नै पर्ने दबाब छ ।
अर्कोतर्फ, कुशल मल्लको कप्तानीमा रहेको चितवनका लागि पनि यो खेल महत्त्वपूर्ण छ । यस खेलमा जित हात पार्न सके चितवनको प्लेअफ सम्भावना बलियो हुनेछ ।
पाँच खेलमा तीन जित र दुई हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा छ । पाँच खेलमा चार हार र एक जितका साथ विराटनगर तालिकाको पुछारमा छ ।