जोडिनुहोस
  • होमपेज
  • ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति

ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति

सिरहा। सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए । साहले पसल बन्द गरी घर गएको बेलामा ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विष्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिए ।

भरत साहको डिलरमा रहेको छ थान ग्यास, सहित किराना सामग्री, एनसेल र एनटिसीको रु दुई लाख रिचार्ज कार्ड, नगद रु पचास हजार गरी रु पाँच लाख ५५ हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताए । उनका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गँहु, खाने तेललगायत दुई लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोली, गोलबजार नगरपालिकाको पानी दमकल र स्थानीयको सहयोगमा शनिबार राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताउँदै मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक पासमानले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

धेरै टिप्पणी गरिएका