
काठमाडौं। बितेको पाँच महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा डेढ सयभन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म)मा उनीहरूको मृत्यु भएको हो ।
दूतावासले सार्वजनिक गरेको विवरणानुसार, ०८१ साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनामा त्यहाँ १५४ नेपालीको मृत्यु भएको छ । यूएईमा साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५ र मंसिरमा २४ नेपालीको मृत्यु भएको दूतावासको तथ्यांकले देखाउँछ ।
उक्त अवधिमा यूएईमा प्रत्येक महिना औसतमा ३० भन्दा बढी नेपाली कामदारको मृत्यु भएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष त्यहाँ प्रत्येक महिना औसतमा १९ भन्दा बढी नेपालीको मृत्यु भएको थियो ।
सडक, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारण यूएईमा नेपालीले ज्यान गुमाउने गरेका छन् ।