कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा ल्याइएको छ । लामिछानेलाई केहीबेर अघि जिल्ला अदालतमा ल्याइएको हो ।
उनीविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुँदैछ। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रवार सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो ।
लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गर्नुपर्ने राय अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।