काठमाडौं। महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अहिले दुई तिहाइको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनले बताए । उनले पचासौँ वर्षदेखि जग्गा कब्जा हुँदा पनि सरकारबाट आश्वासन मात्रै प्राप्त भएको धारणा राखे । कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न उनले स्थानीयहरूलाई सुझाव दिए ।
प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोत साधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नबढे कहिल्यै समस्या समाधान नहुने उनले बताए ।
शाहले कोटेश्वर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा साथ बिक्री वितरण गर्न सुझाव दिए । कोटेश्वर महोत्सव दुई दिनसम्म चल्नेछ ।