भोजपुर। अरुण नदीको लम्सुवाघाटमा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको छ ।
कोशी प्रदेशका पहाडी जिल्लामा तीन पाङ्ग्रे सवारी साधन पार गर्ने सक्ने मापदण्डमा निर्माण भएको यो पहिलो पुल भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत कोशी प्रदेश सरकारको तीन करोड दुई लाख रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।
लम्सुवाघाटमा सङ्घीय सरकारको लगानीमा २०६४ सालबाट पक्की पुल निर्माण थालिएको थियो । करिब चार करोड लागतमा सात वटा पिलर राखेपछि नदी बीचमा ठूलो चट्टान भेटिएसँगै यहाँ पक्की पुल निर्माण रद्द गरिएको थियो । प्राविधिक कारणले पक्की पुल निर्माण रोकिएपछि प्रदेश सरकारले स्थानीयको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरेको हो ।
झोलुङ्गे पुल पाँच फुट चौडाइ र दुई सय तीन दशमलव ८ मिटर लम्बाइको रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए ।
भोजपुरको षडानन्द नगरपालिका–६ कुमालटार र खाँदबारी नगरपालिका ९ जोड्ने यो स्थानमा पुल बनेपछि स्थानीयवासी, विद्यार्थीले काठको डुङ्गा तथा गाडीको ट्यूबको सहायताले नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीयवासी हिउँदको समयमा काठको डुङ्गा तथा ट्युबको सहायताले नदी पार गरे पनि वर्षातको समयमा करिब तीनदेखि चार घण्टा घुमेर तुर्केघाट र सतिघाटबाट नदी तर्दै आएका थिए ।
आधारभूत विद्यालय मात्र रहेको षडानन्द कुमालटारका विद्यार्थीलाई अरुण नदी पार गरेर माध्यमिक शिक्षा लिन सङ्खुवासभाका विद्यालय जान समस्या थियो । पुल बनेपछि विद्यार्थी करिब आधा घण्टामा विद्यालय पुग्ने वातावरण बनेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए ।
विसं २०७९ पुस २६ मा सम्झौता भएको पुलको निर्माण अवधि २०८१ पुस २५ सम्म थियो ।