राजनीति
सांसद बजगाईंविरुद्ध मन्त्री पाण्डेद्वारा कांग्रेस अनुसाशन समिति र संसदीय दलमा उजुरी

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेले कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध कुप्रचार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका दिएका छन् ।
अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृखलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा कुप्रचार गर्दै आएको पाण्डेले उजुरीमा उल्लेख गरे ।
उजुरीमा भनिको छ, ’नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ । लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ।’
बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा मन्त्रीले भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरो थिए । सो पोस्टसम्बन्धी समाचार सार्वजनिक भए लगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएका थिए।
त्यसपछि सांसद बजगाईंले पाण्डेविरुद्धका सबै पोस्टहरु केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाएका थिए।




































