जोडिनुहोस
  • होमपेज
  • निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी

निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी

भोजपुर। सहज स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यले टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरको सेवा दिने उद्देश्यले चारदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाको समन्वय तथा संयोजनमा कादुरी एसोसिएसन ब्रिटिस गोर्खा नेपालले शिविर सञ्चालन गरेको हो । शिविरमा जनरल मेडिसिन, आँखा, दाँत, कान, इसिजी सेवा, अल्ट्रासाउन्ड, स्त्रीरोग, ल्याब परीक्षण लगायतको सेवा प्रवाह भइरहेको आयोजकले जनाएको छ ।

स्थानीय नागरिकलाई सजह रुपमा स्वास्थ्य सेवा दिने लक्ष्यले गाउँपालिका केन्द्र अन्नपूर्णमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

मानव स्वास्थ्यमा ध्यान दिने सोचले शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । “स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा दिने लक्ष्यले यहाँ शिविर सञ्चालन गरेका छौँ”, अध्यक्ष बस्नेतले भने, “शिविरबाट नागरिकले एक साथ सबै खालको सेवा लिन सक्नेछन् ।”

नेपाल सरकारबाट प्राप्त स्रोत साधनबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा पर्याप्त नभएकाले कादुरीसँगको सहयकार्यमा शिविर सञ्चालन गरिएको उनको भनाइ छ । रोग पहिचानसँगै त्यसको उपचारका लागि शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताए ।

शिविरसँगै एसइई दिएर बसेको विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि छनोटको काम भइरहेको उनको भनाइ छ । छनोटमा परेका विद्यार्थीलाई कादुरीले निःशुल्क प्राविधिक शिक्षा दिने उनले जानकारी दिए ।

यही मङ्सिर ७ गतेदेखि सुरु भएको शिविर आजसम्म सञ्चालन हुने कादुरीका प्रोजेक्ट म्यानेजर राजन राईले जानकारी दिए । सञ्चालन भइरहेको शिविरको ब्रिटिसका राजदूतले शनिबार अवलोकन गरे । स्वास्थ्य उपचारबाट वञ्चित रहेको अवस्थामा सबै खालको रोगको निःशुल्क सेवा पाउँदा खुसी लागेको टेम्केमैयुङ–४ का स्थानीय प्रेम राईले बताए ।

“भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ”, उनले भने,“निःशुल्क स्वास्थ्य शिविरमार्फत सबै खालका रोगको उपचार गर्न पाइयो, धेरै खुसी लागेको छ, यही उपचार लिन बाहिरका अस्पतालमा जाँदा धेरै खर्च हुन्थ्यो ।”

दुर्गम भेगलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनले उपचारको अभावमा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएको टेम्केमैयुङ–२ का स्थानीय काजिराम राईले बताउनुभयो । आफ्नै ठाउँमा निःशुल्क सेवा लिन पाउँदा खुसी लागेको उनको भनाइ छ ।

“शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामी जस्ता धेरै नागरिकले सेवा पाएका छौँ”, उनले भने, “सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएका छौँ ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options