जोडिनुहोस
  • होमपेज
  • यसै साता राजीनामा दिने तयारीमा क्यानडाका प्रधानमन्त्री ट्रुडो

यसै साता राजीनामा दिने तयारीमा क्यानडाका प्रधानमन्त्री ट्रुडो

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना रहेको ‘द ग्लोब एन्ड मेल’ पत्रिकाले आइतबार जनाएको छ ।

पार्टीको आन्तरिक मामिलाबारे जानकार तीन अज्ञात स्रोतलाई उद्धृत गर्दै ग्लोबले ट्रुडोको घोषणा छिटोमा सोमबार र ढिलोमा बुधबारसम्ममा आउनसक्ने जनाएको छ ।

ग्लोब स्रोतका अनुसार घोषणा सम्भवतः बुधबार राष्ट्रिय लिबरल पार्टीको बैठकअघि हुनेछ । पार्टीले नयाँ नेतृत्व खोजिरहेको बेला ट्रुडो अन्तरिम हैसियतमा रहने वा नरहने भन्ने स्पष्ट नभएको द ग्लोबले जनाएको छ ।

हालैका महिनाहरूमा ट्रुडोको लोकप्रियता घटेको छ, उनको सरकार अविश्वासको मतको शृंखबाट बचेको छ र आलोचकहरूले उनको राजीनामाको माग गरेका छन्।

उनले सन् २०२५ को अक्टोबरमा हुने चुनावमा लिबरललाई मार्गदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रुडोले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको थप दबाबको सामना गर्नुपरेको छ । उनले क्यानाडाका सामानहरूमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।

उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डले ट्रम्पको स्पष्ट योजनालाई कसरी प्रतिक्रिया दिने भन्ने विषयमा ट्रुडोसँग असहमति जनाएपछि डिसेम्बरमा राजीनामा दिएका थिए । सोही महिनाको अन्त्यतिर ट्रुडोले आफ्नो मन्त्रिमण्डलमा ठूलो फेरबदलको घोषणा गरे ।

उनले राजनीतिक उथलपुथललाई समाधान गर्न आफ्नो मन्त्रिमण्डलको एकतिहाइ सदस्यलाई हेरफेर गरेका थिए । गत नोभेम्बरमा उनी ट्रम्पलाई भेट्न फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा गएका थिए ।

ट्रुडो सन् २०१५ मा सत्तामा पुगेका थिए र सन् २०१९ र २०२१ मा लिबरललाई थप दुईवटा मतपेटिकामा जित दिलाएका थिए ।

पछिल्लो जनमत सर्वेक्षणमा ट्रुडो आफ्ना मुख्य प्रतिद्वन्द्वी कन्जरभेटिभ पियरे पोइलिभ्रेभन्दा २० अंकले पछि परेका छन् ।

प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो दुई कार्यकालमा ट्रुडोले सिनेटमा सुधार ल्याए । संयुक्त राज्य अमेरिकासँग नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरे । क्यानाडाको हरितगृह ग्यास उत्सर्जन कम गर्न उनले कार्बन कर लागु गरे ।

तीन सन्तानका पिता रहेका ट्रुडोले भाङलाई कानुनी मान्यता दिएको, बेपत्ता र हत्या गरिएका आदिवासी महिलाको बारेमा सार्वजनिक अनुसन्धान गर्ने नेतृत्व गरेको र चिकित्सकीय सहायताले आत्महत्या गर्न अनुमति दिने कानुन पारित गरेका थिए । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका