महोत्तरी । मिथिला क्षेत्रमा पुसको छिप्पिँदो जाडोसँगै तिलासक्रायत पर्वको तयारी सुरु भएको छ । घरघरमा तिलासक्रायत पर्वका लागि सामग्रीको जोहो र पकाउने, तुल्याउने तयारीले अहिले चहलपहल बढेको हो ।
अहिले मिथिलावासीहरू पर्वको पूर्व तयारीमा जुटेका छन् । सौरमास गणनाले माघ लाग्ने सङ्क्रान्तिका दिन मनाइने यो पर्वका लागि आवश्यक सामग्री केही दिन पहिलेदेखि नै तयारी गर्नुपर्दा मिथिलानी ९मिथिलाका नारी०लाई भ्याइनभ्याइ छ । यसपालि यो पर्व आगामी मंगलबार परेको छ ।
मुरीको धान निफन्नु, उसिन्नु, सुकाउनु, कुटेर चामल बनाउनु र मुरी भुट्नु अहिले गृहणीका काम हुन् । मुरीका लागि बनाइने चामलका लागि धान विशेष ढंगले उसिन्ने चलन छ । यसैगरी चिउराका लागि धान निफन्ने, भिजाउने र चिउरा कुट्ने कामको पनि चटारो छ । तिल निफन्ने, फल्ने ९छाँट्ने, भिजाएर बाहिरी कत्ला फाल्ने० सुकाएर राख्ने, सक्खरको जोहो गर्ने र सङ्क्रान्तिअघि नै मुरी, चिउरा, जुनेलो बनाइसक्नुपर्ने चटारोले छोप्दा भ्याइनभ्याइ भएको भंगाहा–४ थारुटोल वनराकी ७५ वर्षीया रामसुनर देवी थारुले बताए ।
“पवनीले छोपिसक्यो, काम असरल्ल नै छन्”, उनले भने “चिउरा कुट्न र मुरी भुट्न बाँकी नै छ, शनिबारयता मौसम सफा हुँदा अब सबै काम छिनिन्छ भन्ने लागेको थियो, हिजोदेखि फेरि हुस्सु बढ्नाले पीर लागेको छ ।” तिलासक्रायत मिथिलाका सबै जाति समुदायले उल्लासले मनाउने भए पनि थारुहरूको भने यो मुख्य पर्व नै हुँदा यहाँका थारु बस्तीमा विशेष चहलपहल देखिँदो छ । थारुहरू यस पर्वमा गच्छेअनुसार माछा मासुका परिकार बनाउँछन् ।
मिथिलामा थारुबाहेक अन्य जाति समुदायमा पर्व मनाइसकेपछि छोरी चेली, मित मितिनी र नजिकी इष्टमित्रकहाँ सक्रायतको सनेस ९कोसेली० लैजाने चलन छ । तर थारु समुदायमा यो पर्वमा छोरी चेली, ज्वाइँ, भाञ्जाभाञ्जी र नातिनातिना ९छोरीका छोराछोरी०लाई पर्वअघि नै बोलाउने चलन छ ।
तिलासक्रायतमा घर करेसामा लगाइएको तरुल, पिँडालु र सुठुनीलगायत कन्दमूलले राम्रो मूल्य पाउने आसमा किसान छन् । “यी उत्पादन सङ्क्रान्तिको दुई दिनअघिदेखि बिक्छन्, त्यसैले भोलिपछि खन्न थाल्दा हुन्छ”, बर्दिबास–९ का किसान महेन्द्रसिंह महतोले भने । यसपालि बर्खाकालको अनुकूल वर्षाले माटोको चिस्यान नमर्दा कन्दमूल राम्रो उत्पादन भएको किसान बताउँछन् । यहाँ सिमल तरुलभन्दा लहरे तरुल अझ बढी लगाइन्छ ।