काठमाडौं। पछिल्ला केही सातायता चीनका अस्पतालहरूमा मानिसहरूले मास्क लगाइरहेका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालहरूमा देखिएका छन् । ती तस्बिर तथा भिडियोहरूका आधारमा चीनमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) को संक्रमण फैलिएको अनुमान गरिएको छ ।
एचएमपीभीका बिरामीहरूको चाप बढेसँगै चीनले खासगरी बालबालिकाहरूमा एचएमपीभी भाइरस संक्रमणका घटनामा वृद्धि भएको स्वीकार गरेको छ । तर यो मौसमी संक्रमण भएको चिनियाँ अधिकारीहरूले दाबी गरेका छन् ।
खास गरी १४ वर्ष र सोभन्दा कम उमेरका बालबालिकामा भाइरसको संक्रमण बढिरहेको पाइएको चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर अस्पतालहरूमा बिरामी चाप बढेको भन्ने दाबीलाई उनीहरूले अस्वीकार गरेका छन् ।
संक्रामक रोगसम्बन्धी चीनको सीडीसीका प्रमुख कान बिआओले यो हिउँद र वसन्तमा देशमा श्वासप्रश्वासका विभिन्न संक्रमण फैलिन सक्ने बताएका छन् । तर उनले यो वर्ष श्वासप्रश्वासका समग्र बिरामीको संख्या सन् २०२४ को तुलनामा कम नै रहने बताएका बीबीसीले जनाएको छ ।
सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका संस्थापक निर्देशक टुलिओ डे ओलिभिएराका अनुसार एचएमपीभी यसवर्षको हिउँदमा चीनमा देखिएका चारवटा भाइरसमध्ये एउटा हो । रेस्पिरेटरी सिन्सिसल भाइरस, कोभिड र इन्फ्लुएन्जा अन्य भाइरस हुन् ।
चीनको पछिल्लो अवस्थालाई पाँच वर्षअघिको कोभिड महामारीको सुरूआती दिनको अवस्थासँग तुलना गरिएको छ । सन् २०१९ मा चीनबाटै सुरू भएको कोभिड संक्रमणले विश्वभर ७० लाख मानिसको ज्यान लिएको थियो ।
तर जनस्वास्थ्यविद्हरूले एचएमपीभी कोभिड–१९ जस्तो नभएको बताउँछन् । उनीहरूका अनुसार दशकौंदेखि अस्तित्वमा रहेको यो भाइरसले ब्रोङ्काइटिस अथवा निमोनियासहित श्वासनलीको माथिल्लो र तल्लो भागमा समस्या निम्त्याउन सक्छ । एचएमपीभी भाइरस पाँच वर्षको उमेरमा पुग्दासम्म लगभग हरेक बच्चामा देखिने गरेको छ ।
दुई वर्षभन्दा कम उमेरका बालबालिकाहरूसहित धेरै युवाहरूमा भाइरसको जोखिम सबैभन्दा बढी हुन्छ । त्यस्तै कमजोर प्रतिरक्षा प्रणाली भएका कमजोर प्रतिरक्षा प्रणाली भएकाहरू, वृद्धहरू र क्यान्सरपीडितका लागि पनि एचएमपीभीले थप गम्भीर समस्या निम्त्याउन सक्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ ।
एचएमपीभी एउटा भाइरस हो । यसले मानिसको श्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा संक्रमण निम्त्याउँछ । धेरैजसो मानिसहरूमा एचएमपीभीको संक्रमण सामान्य फ्लूभन्दा फरक देखिँदैन ।
यो भाइरस सबैभन्दा पहिला सन् २००१ मा नेदरल्यान्ड्समा पहिचान गरिएको थियो । तर यो भाइरस त्यसभन्दा दशकौं पहिलेदेखि नै अस्तित्वमा रहेको जनाइएको छ । एचएमपीभीका सामान्य लक्षणहरू रुघाखोकी वा फ्लूका लक्षणजस्तै हुन्छन् । खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने, निकै छिटोछिटो सास फुल्ने लगायत यसका लक्षण हुन् ।
केही संक्रमितमा भने यसका लक्षणहरू गम्भीर पनि हुन सक्छन् । भाइरस मानव शरीरमा प्रवेश गरेपछि लक्षण देखिन३ देखि ६ दिन लाग्छ । तर भाइरसले बिरामी पार्ने औसत समय रोगको गम्भीरतामा निर्भर हुने जनाइको छ ।
अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार यो भाइरसको संक्रमण खासगरी हिउँदको अन्त्यतिर वा वसन्त ऋतुमा देखिने गरेको छ । सीडीसीका अनुसार यो भाइसर मध्यम खालको तापक्रम हुन स्थानमा बढी फैलने गरेको छ ।
एचएमपीभी संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा हावाको माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । संक्रमित व्यक्तिलाई छुँदा, हात मिलाउँदा वा संक्रमित व्यक्तिले छोएका सामान वा सतह छोएर त्यही हात मुख, नाक वा आँखामा लग्दा पनि संक्रमण हुन सक्छ ।
एउटै व्यक्तिलाई पनि पटकपटक एचएमपीभी संक्रमण हुन सक्छ । तर त्यस्ता व्यक्तिमा हुने पहिलो संक्रमण अन्यको तुलनामा कडा हुने गर्छ । पहिलो पटकको संक्रमणका क्रममा रोगप्रतिरोधी क्षमताको विकास हुने भएकाले दोस्रो वा तेस्रो संक्रमणको असर कम हुने गर्छ ।
एचएमपीभीको संक्रमण चीनका साथै भारतमा पनि पुष्टि भइसकेको छ । गत सोमबार भारतका कर्नाटक, तमिल नाडु र गुजरात राज्यमा पाँच बालबालिकामा एचएमपीभी संक्रमण पुष्टि भएको थियो । त्यस्तै, मंगलबार महाराष्ट्रको नागपुरमा दुईजना शंकास्पद संक्रमित भेटिएका थिए । तर उनीहरू उपचारपछि डिस्जार्ज भइसकेका भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।
भारतीय स्वास्थ्य अधिकारीहरूले अहिलेसम्म बच्चा र शिशुहरूमा मात्रै संक्रमण पुष्टि भएको जनाएका छन् । केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले आत्तिनुपर्ने अवस्था नरहेको र धेरै राज्यहरूले पहिले स्वास्थ्य मापदण्ड जारी गरिसकेका जनाएका छन् ।
सरकारले स्थितिलाई नजिकबाट नियालिरहेको र चिन्ता लिनुपर्ने कारण नरहेको उनको भनाइ छ । त्यसका साथै, भारतीय अस्पतालहरूलाई यस प्रकारका श्वासप्रश्वाससम्बन्धी रोगको उपचारका लागि तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको जनाइएको छ ।
उनीहरूको नमूनाहरू नागपुरस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) र पुणेको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पठाइएको अधिकारीले बताए । महाराष्ट्रका स्वास्थ्य सेवा कार्यालयका उपनिर्देशक शशिकान्त शम्भरकरका अनुसार दुईमध्ये एक बिरामी ७ वर्षका र अर्को १३ वर्षका हुन् ।
जनस्वास्थ्यविद्हरूले यो भाइरसबाट बच्न समय समयमा साबुनपानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने लगायतका व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । त्यस्तै, घरबाहिर निस्कँदा मास्क लगाउने, भीडभाड हुने ठाउँहरूमा सतर्कता अपनाउने, हाच्छिउँ गर्दा वा खोक्दा आफ्नो नाक मुख छोप्ने र हात सफा गर्न उनीहरूको सुझाव छ ।
संक्रमण भइहालेको खण्डमा सेल्फ आइसोलेसनमा बस्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्छ । साथै, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने आहार सेवन गर्नुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।