जोडिनुहोस
  • होमपेज
  • रवि लामिछाने बुधबारसम्म न्यायिक हिरासतमा रहने

रवि लामिछाने बुधबारसम्म न्यायिक हिरासतमा रहने

काठमाडौं। थुनछेक बहस नसिकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने अब कम्तीमा बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस भने जारी छ ।

थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो । मंगलबार माघे संक्रान्ति र माघीको बिदा भएकाले अब अदालत बुधबार मात्र खुल्नेछ । मंगलबार सरकारी वकिलको कार्यालयका तर्फबाट बहस सकिए पनि लामिछानेका तर्फका वकिलको बहस नसिएकाले बुधबार पुनः थुनछेक बहस हुनेछ । जाहेरवालाको तर्फबाट केही वकिलले बहस गरे पनि केहीको बहस भने बाँकी छ ।

लामिछानेविरुद्ध काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उनी आइतबार बिहान अदालतमा उपस्थित भएका हुन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौँ आएर प्रहरीको सम्पर्कमा थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए । लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?