नाइजेरिया। अफ्रिकी देश नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा आइतबार भएको सैन्य हवाई आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार एक पाइलटले स्थानीय जनताको सुरक्षा बललाई गल्तीले आपराधिक गिरोह ठानेर प्रहार गर्दा १६ सर्वसाधारणको मृत्यु भएको हो ।
नाइजेरियाली सेनाले लामो समयदेखि यस क्षेत्रमा आपराधिक गिरोहसँग लड्दै आएको छ। उनीहरूलाई स्थानीय भाषामा डकैत भनिन्छ । यी लडाकुहरूले गाउँहरूमा आक्रमण गर्छन्, फिरौतीको लागि मानिसहरूलाई अपहरण गर्छन् र उनीहरूको घर जलाउँछन्। जसका कारण यहाँका सर्वसाधारणले पनि आत्मरक्षाका लागि बन्दुक लिएर अपराधीलाई इलाकाबाट धपाउने गरिरहेका हुन्छन् ।
शनिबार पनि जाम्फाराको डांगेबे गाउँमा लुटेराले आक्रमण गरी धेरै जनावरहरू लुटेका थिए । यसपछि गाउँलेहरूले उनीहरूलाई बन्दुकले आक्रमण गरेका थिए । र, उनीहरूलाई लखेटेर फर्कँदै गर्दा टुङ्गर कारा गाउँ नजिकै उनीहरूमाथि लडाकु विमानले गोली प्रहार गरेको हो ।
एम्नेस्टी इन्टरनेसनलले मृत्यु हुनेको सङ्ख्या २० पुगेको बताएको छ । नाइजेरियाली अधिकारीहरूलाई यस हवाई आक्रमणको तत्काल र निष्पक्ष छानबिन गर्न माग गरिएको छ। यो घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जनाइएको छ ।