धनगढी। कैलालीका ५० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै छ ।
१० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो । यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप लगाइने कार्यपातालिका रहेको छ ।
हरेक विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । कार्यालयका अनुसार कैलालीका ७५५ विद्यालयमै पुगेर किशोरीलाई खोप लगाइनेछ ।
स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरि खोप अभियान चलाउने छ । खोप अभियान अन्तर्गत जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए ।
‘सरकारले सुदूरपश्चिमका सबै जिल्लामा खोप अभियान चलाउने भएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म कैलालीमा खोप अभियान चल्नेछ’, उनले भने, ‘पछि गएर महिलामा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरीहरूलाई १४ वर्षभित्रै खोप लगाउनुपरेको हो । पाठेघरको क्यान्सर हुन नदिन सरकारले खोप अभियान थालेको हो ।’
प्रमुख कुँवरका अनुसार खोप अभियानमा कक्षा ६ देखि १० मा अध्ययनरत किशोरीलाई विद्यालयमै खोप केन्द्र राखेर भ्याक्सिन लगाइनेछ । भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन नदिन एक मात्रा खोप लगाइने उनले बताए ।
कुँवरले भने, ‘पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको ज्यान जाने भएकाले क्यान्सर नियन्त्रणका लागि विश्व स्वास्थ्य संघले प्रमाणित र सिफारिस गरेको खोप लगाइने छ ।’
१५ वर्षअघि नै खोप लगाए पाठेघरको क्यान्सर हुँदैन महिलामा स्तन क्यान्सरपछि पाठेघरको मुखको क्यान्सरको संक्रमण सबैभन्दा बढी हुने गरेको तथ्यांक छ । क्यान्सरका कारण हुने मृत्युमा पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।