
काठमाडौं। बलिउड अभिनेता सैफ अली खानमाथि गए राति चक्कु प्रहार भएको छ । गए राति साढे २ बजे मुम्बईस्थित आफ्नै निवासमा उनीमाथि हमला भएको हो ।
खानको घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ । घटनालगत्तै उनलाई लीलावती अस्पताल पुर्याइएको थियो । अस्पतालमा हाल उनको शल्यक्रिया भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्थाले खानको शरीरमा ६ पटक चक्कु प्रहार भएको जनाएका छन् । त्यसमध्ये दुई घाउ गहिरो चोट भएको पनि उल्लेख छ ।
घटनापछि अभिनेता खानको टोलीले आधिकारिक बयानमा घरमा चोरी गर्ने कोसिस भएको र घरका अर्का एक कर्मचारी पनि घाइते भएको उल्लेख छ ।