जोडिनुहोस
  • होमपेज
  • लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

लोमान्थाङमा ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ हुने

कास्की। विश्वकै सबैभन्दा उच्च स्थानमा आयोजना हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण यही भदौ २८ र २९ गते हुने भएको छ।

मुस्ताङको लोमान्थाङस्थित समुद्री सतहदेखि ४,७०० मिटर उचाइमा रहेको लोवथाङ गल्फ कोर्समा हुने प्रतियोगिताबारे आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक मुस्ताङ गल्फ कोर्सले जानकारी गराएको हो।

आयोजकका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टका अनुसार यस संस्करणमा नेपालका शीर्ष खेलाडीसहित स्वदेश–विदेशका ६० भन्दा बढी गल्फर सहभागी हुनेछन्। गत संस्करणसम्म नौ होलमा सीमित खेलाइँदै आएको प्रतियोगिता यसपटक १८ होलमा विस्तार गरिएको छ।

विजेतालाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगदसहित ट्रफी प्रदान गरिनेछ। त्यस्तै, ‘होल इन वान’ गर्ने भाग्यशाली खेलाडीलाई विशेष पुरस्कार स्वरूप घोडा प्रदान गरिनेछ, जसलाई आयोजकले विश्वकै अनौठो आकर्षण बताएको छ।

प्रतियोगिता ‘स्टेवलफोर्ड’ ढाँचामा खेलाइनेछ। विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, ‘क्लोजेस्ट टु द पिन’, ‘मस्ट बर्डिज’ र ‘लङ्गेस्ट ड्राइभ’ शीर्षकमा छुट्टाछुट्टै पुरस्कार रहनेछ।

यस वर्षको संस्करण ‘टी फर क्लाइमेट’ भन्ने नारासहित सञ्चालन हुनेछ। “मुस्ताङ जलवायु सङ्कटको चपेटामा छ। यसबारेमा विश्व समुदायको ध्यानाकर्षण गराउन उच्च स्थानको गल्फ कोर्सबाट सन्देश प्रवाह गर्न लागिएको हो,” प्रबन्ध निर्देशक विष्टले बताए।

प्रतियोगिता अवधिभर स्थानीय कला, संस्कृति र सङ्गीतका विविध प्रस्तुति समेत रहनेछन्। गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका तथा विभिन्न सङ्घ–संस्थाको सहयोगमा प्रतियोगिता सञ्चालन हुने र यसका लागि १० देखि १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका