
नेपाली कांग्रेसका नेता गगनकुमार थापा ले देश परिवर्तनका लागि जादु वा चमत्कार होइन, स्पष्ट संकल्प र सबै पक्षको सहकार्य आवश्यक पर्ने बताएका छन्। बाराको कोल्हबीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले समाजको विविधतालाई स्वीकार गर्दै एकताबाटै विकास सम्भव हुने धारणा राखे।
उनले भने, “हामी यहाँ कोही मधेसका छौँ, कोही पहाडका छौँ, कोही जनै लगाउने छौँ त कोही जनजाति छौँ। सबैलाई मिलाएर लैजानुपर्छ। देश चलाउने जिम्मेवारी कसै एक जनाको मात्र होइन।” उनले आफू बहुमत ल्याएर प्रधानमन्त्री बनेपछि जादु गर्ने सोचमा नरहेको स्पष्ट पारे। “म जादु र चमत्कारमा विश्वास गर्दिनँ। परिवर्तनका लागि संकल्प चाहिन्छ,” उनले भने।
थापाले स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे। “६,७४३ वडाका प्रमुखलाई सँगै लिएर हिँड्नुपर्छ, प्रदेश सरकारलाई सँगै लिएर हिँड्नुपर्छ, र सबै दल मिलेर अघि बढेपछि मात्र देश सही दिशामा जान्छ,” उनले बताए।
देशलाई तीव्र गतिमा विकासको बाटोमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले हतारोमा दुर्घटना नगराउने स्पष्ट पारे। “हामी देशलाई तीव्र गतिमा अघि बढाउँछौँ, तर दुर्घटना गराउँदैनौँ,” उनले भने। उनका अनुसार सडक पूर्वाधार समयमै निर्माण गर्ने, बन्द उद्योगधन्दा पुनः सञ्चालन गर्ने र स्वास्थ्य उपचारलाई सस्तो बनाउने विषयमा विशेष ध्यान दिइनेछ।
विदेश रोजगारीमा गएका श्रमिकहरूको सुरक्षालाई पनि उनले प्राथमिकतामा राखे। “खाडीमा काम गर्न जाने श्रमिक नठगिई जान सकून् भन्ने सुनिश्चित गर्नुपर्छ। फर्केर आउँदा रित्तै गोजी लिएर नआउन, नेपालमै कुनै न कुनै कामको मालिक बन्न सकून् भन्ने वातावरण बनाउनुपर्छ,” उनले भने। कतार र संयुक्त अरब इमिरेट्सजस्ता देशमा रहेका नेपालीहरू डरमा बस्नुपर्ने अवस्था आउँदा सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि उनले राखे।
आर्थिक अवस्थाबारे चर्चा गर्दै थापाले बैंकमा पर्याप्त तरलता भए पनि लगानीको वातावरण नबनेको उल्लेख गरे। “नेपालका बैंकमा यति धेरै पैसा पहिले कहिल्यै थिएन, तर कर्जा लिन कोही जाँदैनन्। अहिले मानिसलाई सबैभन्दा बढी विश्वास चाहिएको छ,” उनले भने। सेयर बजारमा काम गर्नेहरू, साना व्यवसायी र उद्यमी सबैलाई स्थिर नीति र भरोसाको आवश्यकता रहेको उनको भनाइ थियो।
उनले आफ्नो घोषणापत्रमा १० लाख रुपैयाँसम्म आम्दानी हुनेले कर तिर्नु नपर्ने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए। साथै कम्तीमा १०–१५ वर्षसम्म कर नीति स्थिर राखिने प्रतिबद्धता व्यक्त गरे। “निजी क्षेत्रको मनोबल नबढाएसम्म आर्थिक कारोबार बढ्दैन, र आर्थिक गतिविधि नबढेसम्म रोजगारी सिर्जना हुँदैन,” उनले बताए।
उनका अनुसार नेपालमा वर्षमा कम्तीमा ५ लाख रोजगारी सिर्जना हुन आवश्यक छ, तर अहिले करिब ५० हजार मात्र रोजगारी सिर्जना भइरहेको छ। “सबैलाई रोजगारी दिने जिम्मा सरकारको मात्र होइन। निजी क्षेत्रलाई बलियो नबनाई देशको अर्थतन्त्र बलियो हुँदैन,” उनले जोड दिए।
थापाले स्थिर नीति, पारदर्शी शासन र सहकार्यको राजनीतिबाट मात्रै देशलाई सही दिशामा अघि बढाउन सकिने निष्कर्ष प्रस्तुत गरे। उनका अनुसार परिवर्तन सम्भव छ, तर त्यसका लागि भाषणभन्दा बढी काम, प्रतिस्पर्धाभन्दा बढी सहकार्य र आश्वासनभन्दा बढी विश्वास आवश्यक छ।




















