जोडिनुहोस
  • होमपेज
  • संविधान–१० वर्षमै गहिरो राजनीतिक जटिलता : भुसाल असामान्य राजनीतिक सङ्कटको भुमरीमा

संविधान–१० वर्षमै गहिरो राजनीतिक जटिलता : भुसाल असामान्य राजनीतिक सङ्कटको भुमरीमा

काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले देश अहिले असामान्य राजनीतिक सङ्कटको भुमरीमा फसेको टिप्पणी गरेका छन्। एकता बैठकमा प्रस्तुत राजनीतिक विश्लेषणमार्फत उनले जेनजी आन्दोलनपछि देखिएको अवस्थालाई राष्ट्रको राजनीतिक इतिहासकै संवेदनशील मोडका रूपमा चित्रण गरेका छन्। भुसालका अनुसार जेनजी आन्दोलनपछि देखिएको विध्वंशले राज्यसत्ता कमजोर भएको, सरकार र संसद् आत्मसमर्पणको मनोविज्ञानमा पुगेको तथा राजनीतिक दल र नेताहरूको अस्तित्व नै प्रश्नचिन्हमा परेको छ। उनको भनाइमा, “राज्य, समाज, अर्थतन्त्र र मनोविज्ञानमा परेको धक्का गम्भीर छ, यसको समाधान सहज छैन।”

‘संविधानपछि उकासिएका आकांक्षा १० वर्षमै धरासयी’

२०७२ मा संविधान जारी भएपछि जनता–देश दुवैमा नयाँ आशा पलाएको स्मरण गराउँदै भुसालले अविकास, विभेद र बाह्य हस्तक्षेप अन्त्य गर्ने अपेक्षा उच्च भएको बताए। उनका अनुसार त्यो समय राष्ट्र निर्माणको ऐतिहासिक अवसर थियो, तर त्यसको योग्य उपयोग हुन सकेन। “नेतृत्वको नाङ्गो सत्ता–लोलुपता, दलभित्रको खेलबाड र लोकतान्त्रिक प्रक्रियामा गरिएका अनैतिक चलखेलले जनतामा निराशा र आक्रोश बढ्दै गयो,” भुसालले भने।

भुसालका अनुसार सरकार, संसद, न्यायालयदेखि प्रशासनसम्म केही प्रभावशाली बिचौलियाहरूको प्रभाव बढ्दै जाँदा पार्टी र नेताहरूको विश्वसनीयता झन् खस्किएको छ। उनले नेपाली कांग्रेसको नेतृत्व दलाल पुँजीवादी समूहहरूको प्रभावमा परिरहेको र त्यसले मुलुकको रूपान्तरणको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाए।

त्यस्तै, नेकपा एमाले पनि अस्वाभाविक महत्त्वाकाङ्क्षा र अराजनीतिकरणतर्फ उन्मुख हुँदै गएको भुसालको विश्लेषण छ।जेनजी आन्दोलनपछि देखिएका नयाँ राजनीतिक शक्ति र व्यक्तिहरूमाथि पनि भुसालको तीखो टिप्पणी छ। उनका अनुसार विचारविहीन पपुलिस्ट समूहहरू एकपछि अर्को जन्मिँदै–मेटिँदै छन्, र तिनमा पनि शक्तिको लोभ पुरानै जस्तै देखिन्छ। पूर्व कर्मचारी तथा सुरक्षा अधिकारीहरू बदला वा सम्पत्ति सुरक्षाका कारण राजनीतिमा प्रवेशरत देखिनु पनि उनले जोखिमपूर्ण प्रवृत्ति माने।

भुसालले पुराना पार्टीका प्रशिक्षित कार्यकर्ताहरू वैकल्पिक नाममा द्रुत गतिले ब्यासिनुहुँदा न पुरानामा सुधार हुने, न नयाँमा स्थिरता आउने ठोकुवा गरे। उनका अनुसार यस्तो अव्यवस्थित अवस्थामा भू–राजनीतिक दबाब झनै बढ्नेछ र राष्ट्रको स्वतन्त्र निर्णय क्षमता कमजोर बनाउँदै लैजानेछ। निष्कर्षतर्फ, भुसालले अस्वीकृत नेतृत्व फेरि अगाडि आउने जोखिम र त्यसले राजनीति–समाज दुवैमा तनाव बढाउने चेतावनी दिए। “हामी राजनीतिक सङ्कटको लामो सुरुङमा छिरिसकेका छौँ। सामान्य प्रयासले बाटो निस्किँदैन,” उनले भने।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका