काठमाडौं। गाजा युद्धविरामको पहिलो दिन प्यालेस्टिनी लडाकु समूह हमासले तीन जना बन्धकलाई रिहा गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हमासको नियन्त्रणमा रहेका तीन जना महिला इजरायल फर्किएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
इजरायली सेनालाई बुझाउनुअघि हमासले उनीहरूलाई गाजास्थित रेडक्रसलाई सुम्पिएको बताइएको छ । इजरायल फर्किएका उनीहरूलाई तेल अबिबस्थित सेवा मेडिकल सेन्टरमा प्रारम्भिक उपचार गराइएको थियो । उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको त्यहाँको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पहिलो दिन रिहा भएका बन्धकमा ३१ वर्षीया इजरायली नागरिक डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया बेलायती–इजरायली नागरिक एमिली डमारी छन् ।
यता, युद्धविराम सम्झौता अनुसार एक इजरायली बन्धकको बदलामा इजरायलले ३० प्योस्टिनीलाई रिहा गर्नुपर्ने हुन्छ । जसअन्तर्गत तीन इजरायली बन्धकको बदलामा इजरायलले ९० प्योलेस्टिनीलाई रिहा गरेको इजरायल प्रिजन सर्भिसले जनाएको छ ।
४२ दिनसम्म चल्ने पहिलो चरणको सम्झौता अन्तर्गत हमासले समग्रमा ३३ बन्दी रिहा गर्नेछ । यस्तै पहिलो चरणको सम्झौता सही रूपमा कार्यान्वयन भए युद्धविराम भएको १६औं दिनमा दोस्रो र तेस्रो चरणको वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले तीन महिलाको रिहाइको स्वागत गर्नुभएको बीबीसीले जनाएको छ ।
अक्टोबर ७, २०२३ मा हमासले दक्षिणी इजरायलमा अप्रत्याशित रूपमा आक्रमण गर्दै २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । जसमा हमासले अझ पनि ९१ जना इजरायली बन्धकलाई आफ्नो नियन्त्रणमा राखेको बताइएको छ । त्यसमध्ये ६० जना जीवित रहेको इजरायलको विश्वास छ ।