काठमाडौं। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । पोखरेलविरुद्ध बुधवार ठगी मुद्दा दायर भएको थियो । बिहीबार बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो ।
बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता, सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको थियो ।
एमाले मोरङ जिल्ला सदस्यसमेत रहेका पोखरेलले पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग बौआलालसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए ।
गत ३१ भदौमा उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारबाहीको गर्न आदेश दिएको थियो ।
ठगीको विवरण सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।