राजनीति
धरानका मेयर साम्पाङको अख्तियारलाई जवाफः हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न आउनु
सुनसरी। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई अर्थात् हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधेको पत्रको जवाफ ठेट र उटपट्याङ शैलीमा दिउका छन् ।
माघ २ गतेको पत्रको जवाफ भन्दै साम्पाङले आज अख्तियारलाई पठाएको पत्रमा धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको जनाउँदै यसले नगरबासीलाई पानीको आपूर्ति गर्न सबैखाले विधि अपनाउन सक्ने उल्लेख गरेका छन् ।
’बिहान उठ्ने बित्तिकै टोइलेट जानुपर्छ पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला’, उनले अख्तियारलाई पठाएको जवाफी पत्रमा लेखिएको छ,’ केही छिनपछि भात पकाउनु परो । भात पकाउन पानी चाहिन्छ । भात खाएपछि हातमुख चुठ्नुपरो त्यसको लागि नि पानी चाहिन्छ । जुठोभाँडा लडाइराख्न मिलेन धुनै परो त्यसका लागि नि पानी नै चाहिन्छ ।’
पानीको प्रयोग कहाँ–कहाँ हुन्छ भन्ने सबै उल्लेख गर्दै मेयर राईले पत्रमा बेलिबिस्तार लगाएका छन् । उनको पत्रमा आफूले श्रमदान गरेर कसरी पानी ल्याइयो भन्ने सबिस्तार वर्णन गरिएको छ । कोशीको पानी धरानलाई दिन्छु भन्ने सिंहदरबारले वर्षौंदेखि बिन्ति बिसाउँदा पनि नसुनेकाले भोजे गाग्री लिएर सिंहदरबार पुगेको समेत उनले उल्लेख गरेका छन् ।
‘जनतालाई पानी चाहिएको छ है तत्कालै पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के,’ उनको पत्रमा छ,’ त्यसैले हाम्ले श्रमदान गर्नुपरेको हौ…खोई कुरा बुझ्या ।’
उहाँले श्रमदानमा अनियमितता भयो भन्दै वाइयात उजुरी दिनेले कतिवटा पाइप किनेर दियो, कति श्रमदान गर्यो भन्दै प्रश्नसमेत गर्नु भएको छ । उनले अख्तियारलाई कोकाहा खानेपानी श्रमायोजन–२ चलिरहेको जनाउँदै लेखेका छन्, ’एक दिन आउनु है मुहानबाट धरानसम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न । कम्ता रमाइलो छैन ।’
मेयर साम्पाङले पानीमा राजनीति गर्नु हुँदैन भन्दै ’पानी माग्न जनता त्यता आउलान् है फेरि !’ अख्तियारलाई लेखेका छन्।