काठमाडौं। एपीएफ क्लब अपराजित रहँदै , प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । एपीएफले सुपर फोरको आफ्नो दोस्रो खेलमा आज त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गरेको हो ।
एपीएफले समूहका चार र सुपर फोरका दुवै खेलमा जित हात पारेको हो । कैलालीको धनगढीस्थित फाप्ला इन्टरनेसनल क्रिकेट ग्राउन्डमा आर्मीले टस जितेर फिल्डिङ रोजेको थियो । आज पनि खराब मौसमका कारण खेल १७ ओभरको मात्र भयो ।
एपीएफले तीन विकेटको क्षतिमा १ सय १५ रनको योगफल बनायो । ओपनर ममता चौधरीले ११ रन बनाइन् भने रोमा थापा ७ रनमा आउट भइन् । अर्की ओपनर राजमती चौधरीले ३५ रनको योगदान गरिन् । कविता कुँवर ३४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहिन् । सुस्मिता भुसालले दुई विकेट लिइन् ।
जवाफमा आर्मी पुरै ओभर खेल्दा ४६ रनमा अल आउट भयो । शीर्ष पाँच ब्याटर ४ रनभन्दा कममा पभेलियन फर्किएका थिए । सम्झना खड्का एक, रुवि पोदार शून्य, आश्मा पुलामी मगर एक, अञ्जली विश्वकर्मा तीन र निमा तामाङ एक रनमा आउट भए । दुई खेलाडी रन आउट भए । कप्तान लक्ष्मी साउदले १० र राधिका पुजाराले सर्वाधिक १७ रन जोडेकी थिइन् । रेखा रावलले तीन र सवनम राईले दुई विकेट लिइन् ।