काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा पुनः सहभागी हुनेबारे पुनर्विचार गर्न सकिने बताएका छन् ।
लस भेगासमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले डब्लूएचओसँग फेरि आबद्ध हुनेमा विचार गर्न सकिने बताएका हुन् । राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन गत सोमबार नै ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसका लागि डब्लूएचओको संरचनागत सुधार गर्नुपर्नेमा ट्रम्पको जोड छ । अमेरिकाले २२ जनवरी २०२६ मा डब्ल्यूएचओ छाड्नेछ ।
अमेरिका डब्लूएचओको सबैभन्दा ठूलो आर्थिक दाता हो । स्वास्थ्य संगठनको कुल कोषको करिब १८ प्रतिशत अमेरिकाले योगदान गर्दै आएको थियो । अमेरिकाले सन् २०२४ र २०२५ का लागि ६ अर्ब ८० करोड अमेरिकी डलर छुट्याएको छ ।
धेरै ठूलो जनसंख्या भएको चीनले भन्दा अमेरिकाले डब्लूएचओलाई बढी आर्थिक सहयोग गरेको भन्दै ट्रम्पले असन्तुष्टि व्यक्त गरे ।
फरक प्रसंगमा ट्रम्पले साउदी अरेबियालाई अमेरिकामा करिब १० खर्ब डलर लगानी गर्न आग्रह गर्ने बताए । जुन साउदीले गरेको बाचाभन्दा ६ सय अर्ब डलरले बढी हो ।
गत साता मात्रै साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले आगामी ४ वर्षमा साउदीले अमेरिकामा ६ सय बिलियन डलर लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।