जोडिनुहोस
  • होमपेज
  • म्याग्दीमा साढे ३३ करोडको सुन्तला बिक्री

म्याग्दीमा साढे ३३ करोडको सुन्तला बिक्री

म्याग्दी। म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भइसकेको छ ।

उनका अनुसार क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो । यस वर्ष जिल्लाका छवटै स्थानीय तहमा चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट २४ करोड भित्रिएको थियो ।

जिल्लामा आठ सय २० हेक्टर जमिनमा सुन्तलाखेती हुँदै आएकोमा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ ।

बेनी नगरपालिका–३ र ४ नम्बर वडाबाट मात्र छ करोड बढीको सुन्तला बिक्री भएको केन्द्रले जनाएको छ । जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ । अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।

किसानको बगैँचाबाट प्रतिकिलो ६० देखि एक सय २० मूल्यमा व्यापारीले सुन्तला खरिद गरेका छन् । दोसल्ले व्यावसायिक सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले गाउँमा उत्पादन भएको सुन्तला धमाधम बिक्री भइरहेको र उत्पादन बढेकाले किसान उत्साहित बनेको बताए ।

जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीका साथै संघीय राजधानी काठमाडौं, पोखरा, बुटवल, भैरवा, नारायणगढलगायत बजारमा निकासी हुँदै आएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका