जोडिनुहोस
  • होमपेज
  • बर्सिम घाँस खेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँस खेतीले पशुपालक किसानलाई सहज

दाङ। यति बेला लहलह बर्सिम घाँसले ढाकेको छ । दाङका किसानले बर्सिम घाँस खेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदे बालीका रुपमा घाँस खेती गर्न थालेका छन् ।

घोराही उपमहानगरपालिका–६ की सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पालेकी छन् । घर छेउको १५ कट्ठा जमिनमा बर्सिम घाँस खेती गरेको उनले बताइन् ।

गाई र बाख्रालाई बर्सिम घाँस खुवाएर पाल्न सजिलो भएको उनी बताउछिन् । ‘हिउँद याममा आफ्नो १५ कट्ठा खेतमा तोरी, मसुरो र गहुँको साटोमा बर्सिम घाँस लगाउने गरेको छु’, उनले भनिन्, ‘पूरै खेतमा घाँस लगाउन थालेको छ वर्ष भयो, हरियो हुँदा काटेर गाई बाख्रालाई खुवाउन पनि पाइएको छ ।’

सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस भएको उनले बताइन् । उनले भनिन्, ‘गाई बाख्राका लागि घाँस खोज्न भौतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ ।’

घोराही–६ बचाहाका बालकृष्ण खनालले १७ कट्ठा खेतमा यो घाँस लगाएका छन् । उनले व्यावसायिक रुपमा बाख्रा पालेका छन् । उनीसँग ७० बाख्रा छन् ।

उनले हिउँदमा बर्सिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काटेर खुवाउनाले बाख्रापालन सजिलो भएको बताए । बर्सिम घाँस खेती गर्दा मल पनि छर्न नपर्ने र धानमा हालेको मलले घाँसलाई पनि काम गर्ने भएकाले खेती गर्न सजिलो भएको उनले बताए ।

बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झटिलो नभएकाले घाँस खेतीमा आकर्षण बढेको हो । गाई भैँसी, भेडा र बाख्रा सबैलाई यो घाँसले फाइदा पु¥याउँछ ।

घोराही–१७ कर्जाहीका विकास चौधरीले दुई भैँसी र आठ बाख्रा पालेका छन् । उनले भने, ‘बाह्र कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ ।’ घरमै बीउ उत्पादन गरेर वर्षेनी घाँस खेती गर्ने गरेको उनले बताए ।

‘एकपटक काटेर सकियो, यहाँका धेरैजसो पशुपालक किसानको घाँस खेतीमा आकर्षण बढेको छ, वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्, हरियो र सुकेको बर्सिम घाँस गाईबस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ’, उनले भने ।

घोराही–६ का कृषकहरूले १२ देखि साढे दुई बिघामा घाँस खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो ।

घोराही–६ को गुरुवागाउँ, गुरगै, बेरुवा गाउँ, जजरागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को गैरा गाउँका किसानले बर्सिम घाँस खेती गरेका छन् । अहिले पूरै खेतभरि हरियो बर्सिमखेती देख्न सकिन्छ ।

अहिले उक्त क्षेत्रमा रहेका एक सय ६० घरपरिवारले घाँस खेती गर्ने गरेको शिव शक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउछन् ।

उनका अनुसार जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालेको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटकपटक सिँचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ ।

धान खेतीपछि बर्सिम घाँस खेती गर्ने गरिन्छ । यसलाई (ग्रिन गोल्ड) का नामले पनि चिनिन्छ । पछिल्लो समय दाङका सबै जसो पालिकाका किसानले यो घाँस खेती गर्न थालेका छन् । यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका