काठमाडौं। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई सर्वसहमतिले पारित गरेको छ ।
आईतवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले उक्त विधेयकलाई सर्वसहमतिले पारित गरेको हो ।
समितिले लामो समय विधेयकका विषयमा छलफल गरी समितिले बनाएको अन्तिम ड्राफ्टको विषयमा उद्योग,कानून र सञ्चार मन्त्रालयसँगको छलफलपछि विधेयक समितिबाट पारित भएको हो ।
विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभा हुँदै छलफलका लागि समितिमा आएको थियो । समिति बठैकमा बोल्दै समिति सभापति अब्दुल खानले सबैको सर्वसहमतिले विधेयक पास भएको घोषणा गरे ।
उनले समितिबाट पारित भएको विधेयक संसदमा पेश गरिने बताए । उनले समितिबाट विधेयक पास भएपनि संसदमा पेश गर्ने जिम्मेवारी बाँकी रहेको बताए ।
समिति बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० महत्वपूर्ण रहेको भन्दै नयाँ विधेयक बन्नु खुशीको विषय भएको बताए ।
उनले नयाँ ऐन समिति र संसदबाट पारित गराउनु भनेको समिति र सरकारको पुँजी भएको बताए । उनले विगतमा धेरै ऐनहरु बनाउँदा समय सापेक्ष भए÷नभएको समिक्षाका आधारमा नयाँ कानून बनाउन आवश्यक रहेको बताए ।
उनले सरकारले ऐन कानूनहरु बनाउँदा सरलिकृत बनाउने प्रयास स्वरुप धेरै ऐनहरु संशोधन गरिरहेको उल्लेख गरे ।
उनले ऐन कानूनहरु सरलिकृत हुँदा कार्यान्वयनमा सहजता हुने बताए । उनले ऐनलाई कार्यान्वयन गर्ने विधि र कार्यविधि बनाउन जरुरी रहेको बताए ।
विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० विधेयकले मध्यस्तकर्ता,उत्पादक र विक्रेतालाई व्यवसायीको रुपमा लिएको छ । विधेयकले अरुको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने व्यवस्था गरेको छ ।