जोडिनुहोस
  • होमपेज
  • जिल्लाको आदेश त्रुटिपूर्ण र बेरित रहेको रविको दाबी

जिल्लाको आदेश त्रुटिपूर्ण र बेरित रहेको रविको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटीलाई लिएर असन्तुष्टि जनाउँदै उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पुस २५ गते लामिछानेलाई तत्काल प्रमाणका आधारमा कसुरदार ठहर गर्न नसकिने भन्दै धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै लामिछानेले दफा ६९ अनुसार साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।

रवि लामिछानेले अदालतमा पेस गरेको पुनरावेदन निवेदनमा आफू सहकारी ठगी प्रकरणसँग असम्बन्धित रहेको दाबी गरेका छन् । उनले राजनीतिक षड्यन्त्रका कारण आफूलाई संगीन आरोप लगाइएको भन्दै धरौटीको आदेशलाई बदर गर्न आग्रह गरेका छन् । निवेदनमा लामिछानेले लेखेका छन्, ‘ममाथि प्रमाणित गर्न नसकिने गम्भीर आरोप लगाइएको छ । यसबाट मेरो राजनीतिक, सामाजिक र व्यक्तिगत छविमा आघात पुर्याउने प्रयास भइरहेको छ । बिना यथार्थ तथ्य धरौटी माग्ने आदेश गम्भीर त्रुटिपूर्ण छ ।’

सरकारी पक्षले भने लामिछानेलाई थुनामै राखेर मुद्दाको बाँकी अनुसन्धान गर्नुपर्ने तर्क राख्दै यसअघि नै उच्च अदालतमा निवेदन दिएको छ । उच्च अदालत पोखराका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले कास्की अदालतलाई धरौटीमा रिहा गर्ने कारण पेश गर्न निर्देशन दिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीमा ठगी मुद्दा सुरुमा लामिछानेविरुद्ध दर्ता गरिएको थिएन । पछि पूरक अभियोगपत्रमार्फत उनलाई प्रतिवादी बनाइएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीन फरक मुद्दामा उनलाई प्रतिवादी बनाइएको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख रुपैयाँ धरौटी बुझाएका लामिछानेले हालै बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा १ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका