स्याङ्जा । स्याङजा भीरकोट नगरपालिका-४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा पनि अधुरै छ । भीरकोट-४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्ने गरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रो पटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन ।
निर्माण कम्पनीले भ्याटसहित रु १४ करोड २६ लाख ३७ हजार चार सय २० लागतमा निर्माण सक्ने गरी सम्झौता भएको थियो । एक सय २५ मिटर लम्बाइको पुल तीन स्पानको हुने इञ्जिनियर विष्टले बताए । ४०–४० मिटरको तीन स्पानमध्ये दुई किनाराका दुईवटा स्पान निर्माण सकिएको र बीचको एउटा स्पान र त्यहाँसम्म पुग्ने दुवैतर्फको पहुँचमार्ग निर्माणको काम बाँकी छ । पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणका लागि पुलसँगै पर्खाल लगाउने काम अहिले भइरहेको छ ।
पुल दुवैतर्फ किनारामा फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । निर्माण व्यवसायी चन्द्र थकालीले उक्त पुलको झण्डै ८० प्रतिशत काम सम्पन्न भएको दाबी गरे । उनले पुलको धेरै काम सकिएको र अब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कामदार परिचालन गरिएको बताए । ‘पुलको दुवैतर्फको स्पान निर्माण भइसकेकाले अहिले बीचको एउटा स्पान निर्माणका लागि फिलिङको काम भइरहेको छ’, उनले भने, ‘काम सक्ने लक्ष्यसहित कामदार लगाएका छौँ, दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने तयारीसहित अगाडि बढेका छौँ ।’
पुल निर्माणसँगै खोलाको दायाँबायाँ निर्माण गर्नुपर्ने पर्खाल निर्माण नगर्दा पनि वर्षाको समयमा आँधीखोलाले किनाराका खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गराएको छ । बर्खामा यस ठाउँमा खोलाले डुबानमा पार्ने गरेको छ ।हिउँदमा बाँसको फड्के बनाएर वा खोला तरेर वारपार गर्ने स्थानीय बर्खायाममा घुमाउरो बाटो हुँदै झोलुङ्गे पुलबाट वारपार गर्नुपर्छ ।