जोडिनुहोस
  • होमपेज
  • ‘शून्य कार्बन लक्ष्यसहित दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध’

‘शून्य कार्बन लक्ष्यसहित दिगो ऊर्जा विकासमा सरकार प्रतिबद्ध’

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यहाँ आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रूपान्तरण सम्मेलन, २०२५’ मा उनले विकास परियोजनामा जोखिम न्यूनीकरण, आन्तरिक ऊर्जा खपत वृद्धि, ऊर्जा निर्यात प्रवद्र्धनलगायत योजनालाई कार्यान्वयन गर्दै दिगो विकासको मार्गमा सरकार अघि बढिरहेको बताए।

‘पूर्वाधार निर्माणका क्रममा सिर्जना हुने जोखिमलाई कसरी न्यून गर्न सकिन्छ भनेर गम्भीरताका साथ सोच्नुपर्ने बेला आएको छ, जोखिम अध्ययन गरेर त्यसको न्यूनीकरणका लागि आवश्यक कार्य गर्न जरुरी छ’, मन्त्री खड्काले भने।

उनले दिगो विकासका लागि दातृ निकाय र विकास साझेदारको सहयोगलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिए ।

सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धताबारे स्मरण गर्दै मन्त्री खड्काले यो लक्ष्य प्राप्तिका लागि सरकारसँग बलियो योजना रहेको र आवश्यक कानुन परिमार्जन तथा संरचना निर्माण गरिसकिएको समेत जानकारी दिए ।

ऊर्जा क्षेत्रलाई थप सबल बनाउन सरकारले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण र सञ्चालनमा सहभागी गराएको उनको भनाइ छ । साथै ऊर्जा परियोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई आर्थिक रूपमा सशक्त बनाउन शेयर वितरणको नीति लागू गरिएको उनले बताए।

ऊर्जाको आन्तरिक खपत बढाउने र निर्यात प्रवद्र्धन गर्ने सरकारको नीति रहेको पनि उनले बताए। त्यस्तै, ऊर्जा विकास अभियानमा दातृ निकाय, विकास साझेदार, निजी क्षेत्रलगायत सबै वर्ग र क्षेत्रको सहभागिता आवश्यक रहेकामा उनले जोड दिए ।

त्यस्तै, ऊर्जा रूपान्तरण सम्मेलनले नेपाललाई दिगो र न्यून कार्बन अर्थतन्त्रतर्फ लैजान महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै मन्त्री खड्काले सम्मेलनबाट प्राप्त सुझावलाई सरकारले ग्रहण गर्ने र आवश्यकताअनुसार त्यसको सम्बोधन गर्दै जाने बताए।

जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले शतप्रतिशत विद्युतीकरणका लागि नवीकरणीय ऊर्जामा लगानी बढाउन आवश्यक रहेको बताए।

नेपालस्थित बेलायती राजदूतावासका विकास निर्देशक तथा उपराजदूत पिपा बोर्डले नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि हरित वित्त परिचालनमा जोड दिइनुपर्ने बताए।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ऊर्जा प्रणालीलाई दिगो, भरपर्दो बनाउने र ऊर्जा सुरक्षाका क्षेत्रमा थप उपलब्धि हासिल गर्ने गरी विभिन्न विकास साझेदार तथा निजी क्षेत्र, स्थानीय तहसँग सहकार्य भइरहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका