जोडिनुहोस
  • होमपेज
  • मनाङको तिमाङ र गौरीशंकर संरक्षण क्षेत्रको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर

मनाङको तिमाङ र गौरीशंकर संरक्षण क्षेत्रको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर

मनाङ। मनाङको तिमाङ र सिन्धुपाल्चोकको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गतको वनमा शुक्रवारदेखि लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

चीनसँग जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी–२ लिपिङको माथिल्लो क्षेत्रको वनमा शुक्रवारदेखि डढेलो लागेको हो ।

चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार आगो निभाउने प्रयास जारी छ ।

‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन व्यस्त छन्’, प्रजिअ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।’ अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकेको र बस्तीमा त्यति जोखिम नरहेको उनको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको बताए । उनले भने, ‘संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, वनजङ्गलमा रहेका सुकेका ठुटाले गर्दा पनि आगो लागिरहेको छ ।’

सल्लाको काठ, पातपतिङ्गरले गर्दा आगो बढ्नसक्ने डर पनि रहेको प्रमुख भुजेलले बताए । उनले भने, ‘सुक्खायाम र हावाहुरी चल्ने मौसमले गर्दा पनि आगो बढ्नसक्छ ।’ सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वनजङ्गलमा आगलागी भइरहेको भुजेलले जानकारी दिए । उनका अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले नष्ट हुने जोखिम बढेको छ ।

‘आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्ने गर्दछ । चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नाश हुने सम्भावना छ’, कार्यालय प्रमुख भुजेलले भने ।

विसं २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका