![विश्वकै दोस्रो प्रदूषित सहर बन्यो काठमाडौं](https://sagarmatha.tv/wp-content/uploads/2024/11/kathmandu-bayu-pradusan.webp)
काठमाडौं। काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) बिहान ११ः२८ बजे १८३ पुगेको छ ।
पाकिस्तानको कराची २२७ एक्यूआईसहित प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ । तेस्रो स्थानमा चीनको हुवान शहर रहँदा चौथो स्थामा कलत्तता भारत रहेको छ ।
१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।
प्रदूषणले स्वास्थ्यमा गम्भीर असर
बढ्दो वायु प्रदूषणले मानव शरीरमा गम्भीर असर पारिरहेको चिकित्सकले बताएका छन् । श्वासप्रश्वासका कारण दूषित हावा शरीरमा प्रवेश गरी अल्पकालीन र दीर्घकालीन असर पुर्याइरहेको छ । वायु प्रदूषण बढ्दा घातक ग्यासका कण शरीरमा प्रवेश गर्ने भएकाले श्वासनलीमा संक्रमण, फोक्सोमा क्यान्सरलगायतको जोखिम बढिरहेको छ ।
छाती रोग विशेषज्ञ डा. नीरज बमका अनुसार पहिलेदेखि नै श्वासप्रश्वासको समस्या भएकाहरूमा वायु प्रदूषणको सीधा असर पर्छ । उनीहरूमा दम बढ्ने, क्षयरोग भएका व्यक्तिमा खोकी बढ्ने, खकारमा रगत देखिने, ब्रोंकाइटिस भएका व्यक्तिमा गम्भीर लक्षण देखिने हुन्छ । यसबाहेक मधुमेह, रक्तचाप, फोक्सोमा संक्रमण, गर्भाधानमा समस्याजस्ता समस्या पनि बढाइरहेको छ । प्रदूषण अत्यधिक भएको क्षेत्रमा बसोबास गर्दा श्वासनलीमा समस्या देखिने, घाँटी दुख्ने वा खसखसाउने, रुघाखोकी लाग्ने, भाइरस संक्रमण बढाउने जोखिम हुन्छ ।
प्रदूषणको मात्रा बढ्दै जाँदा छाला चिलाउने, आँखा चिलाउने वा रातो हुने समस्या देखिन्छन् । प्रदूषण बढेको समयमा घरबाट सकेसम्म ननिस्किने वा मास्क लगाएर मात्रै निस्कन चिकित्सकको सुझाव छ । तर, मास्कको प्रयोगले मात्रै जोखिमबाट बच्न नसकिने भएकाले प्रदूषण नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको उनीहरूको भनाई छ ।