
काठमाडौँ । विधायन व्यवस्थापन समितिमा सङ्घीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश उमेर हद सम्बन्धमा प्रतिनिधि सभाबाट पास भएको प्रतिवेदनमा भएकै व्यवस्था कायम राख्ने सहमति जुटेको छ ।
समितिको आजको बैठकमा कर्मचारीको अवकाश उमेर विधेयक लागू भएको वर्ष ५९ वर्षमा हुने भन्ने अडानबाट सरकार पछि हटेपछि विधेयकमा कर्मचारीको अवकाश सम्बन्धी व्यवस्थामा सहमति जुटेको हो ।
प्रतिनिधि सभाले पास गरेको प्रतिवेदनमा कर्मचारीको अवकाश पहिलो वर्ष ५८, दोस्रो वर्ष ५९ र तेस्रो वर्षबाट ६० वर्षमा हुने व्यवस्था रहेको छ ।
बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सङ्घीय निजामती विधेयकमा कर्मचारीको अवकाश उमेरमा देखिएको विवादबारे प्रतिनिधि सभा बैठकको प्रतिवेदनअनुसार नै सहमति गरेर अघि बढ्न प्रस्ताव गर्नुभयो ।
मन्त्री न्यौपानेले आज निष्कर्षमा पुग्नै पर्ने भन्दै बहुमत र अल्पमत गरेर यसलाई टुङ्ग्याउने पक्षमा नरहेको बताए ।अहिले समितिमा विधेयकको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।




































