जोडिनुहोस
  • होमपेज
  • सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडक जोखिमपूर्ण

सिल्मी–ठुलीपोखरी–कार्कीनेटा सडक जोखिमपूर्ण

पर्वत। सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडक निर्माण व्यवसायीको लापरवाहीका कारण जोखिमपूर्ण बनेको छ।

पोखरा–बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यो सडकमा दैनिक सयौँ सवारीसाधन चल्ने भए पनि समयमा मर्मत नहुँदा यात्रुहरूलाई सास्ती भएको छ। सिल्मी–ठुलीपोखरी सडकका पोखरी घुम्ती र लौकेको उकालो क्षेत्रमा सोलिङका ढुङ्गा उप्काएर अन्यत्र लगाइए पनि ग्राभेल नराखिएकाले बिरामी र विद्यार्थीलाई आवतजावतमा कठिनाइ भएको छ।

सडकमा वैकल्पिक व्यवस्था बिना हिलो र बिग्रिएका भागका कारण सवारीसाधन बाटैमा अलपत्र परिरहेका छन्। नियमित यातायात नहुँदा विद्यार्थी र बिरामीलाई समस्या भएको स्थानीय मिलन पौडेलले बताए।

कुश्मा नगरपालिका–१२ का वडाध्यक्ष झलकप्रसाद रिमालका अनुसार सोलिङ उप्काएर सडक अलपत्र पारिँदा स्थानीय प्रभावित भएका छन्। “हामीले पटकपटक निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छौँ तर खासै ध्यान दिइएको छैन,” उनले भने।

यातायात व्यवसायी सुरेश केसीका अनुसार सडक बिग्रँदा कुश्मा र पोखरातर्फ जाने सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ। उनका अनुसार मर्मत माग्दा व्यवसायी धम्की दिने गर्छन्।

पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले निर्माण पक्षलाई पटकपटक निर्देशन दिइएको भए पनि अटेरीका कारण समस्या बढेको बताए। “हामीले तत्काल मर्मत गर्न भनेका छौँ, स्थानीय र जनप्रतिनिधिले पनि दबाब दिनुपर्छ,” उनले भने।

सोलिङ उप्किएपछि साना गाडी, मोटरसाइकल र पैदल यात्रु दुर्घटनाको जोखिममा परेका छन्। स्थानीयले तत्काल मर्मत गरी सडक व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा रु पाँच करोड ८० लाख लागतमा पाँच किलोमिटर सडक स्तरोन्नति सुरु गरिएको हो। यो परियोजना चालु आवमै सकिनुपर्ने भए पनि हालसम्म जम्मा २५ प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका