
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)मा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको शङ्कास्पद मृत्युबारे प्रहरीमा जाहेरी परेको छ । शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा सिनियर इन्स्पेक्टर विरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएको स्रोतले जनाएको छ । तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत एक जना पुरुष इन्स्पेक्टर विरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले बताए । इन्स्पेक्टरमाथि सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ ।
उनको शव पोस्टमार्टमको लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले जानकारी दिए । घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता न्यौपानेको भनाइ छ ।