जोडिनुहोस
  • होमपेज
  • मिथिला क्षेत्रमा राखीको रौनक बढ्दो

मिथिला क्षेत्रमा राखीको रौनक बढ्दो

महोत्तरी। साउन शुक्लपक्ष सुरु भएसँगै मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको चहलपहल बढेको छ। प्रमुख सांस्कृतिक पर्वका रूपमा मनाइने राखीले अहिले महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्र राखीमय बनेको छ।

साउन पूर्णिमाका दिन मनाइने यो पर्व दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, समर्पण र नटुट्ने सम्बन्धको प्रतीक मानिन्छ। पर्व नजिकिँदै जाँदा बजारमा रङ्गीचङ्गी राखी बिक्रीमा राखिएका छन् भने दिदीबहिनीहरू आफ्ना दाजुभाइ कहाँ छन् भन्ने खोजीमा छन्।

यसै महिनामा मौन व्रत, मधुश्रावणी, नागपञ्चमी र झुलनोत्सव पनि मनाइन्छ। तर राखीलाई विशेष मानिन्छ। परम्पराअनुसार विवाहित चेलीहरू माइत आएर, अविवाहितहरूले भने घरमै दाजुभाइसँग पर्व मनाउँछन्।

सञ्चार प्रविधिको विकाससँगै पहिले हुलाकबाट राखी पठाउने चलन हराउँदै गएको छ। अब दाजुभाइलाई मोबाइलमार्फत सम्पर्क गरी बोलाउने र नआए राखी घरमै सुरक्षित राख्ने चलन छ।

यसबीच बजारमा राखी बिक्री गर्ने व्यवसायी पनि निकै व्यस्त देखिन्छन्। मिथिलामा राखी परम्पराले हिन्दू र मुस्लिम समुदायबीचको आपसी सद्भाव झनै बलियो बनाएको समाजशास्त्रीहरू बताउँछन्।

पर्वको सन्दर्भमा दाजुभाइलाई राखी बाँध्ने मात्र नभई, शास्त्रीय विधिबाट पुरोहितले डोरा बाँधिदिने चलन पनि रहेको छ। मिथिलामा राखी अब धार्मिक मात्र नभई सांस्कृतिक र सामाजिक मेलमिलापको पर्वको रूपमा फैलिँदो छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका