
काठमाडौँ । लामो समयदेखि चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ आजदेखि जिल्ला अदालत काठमाडौँमा सुरु हुँदैछ। पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणसहित ३१ जना यस प्रकरणमा प्रतिवादी छन्।
साक्षी बयान र बकपत्र प्रक्रियापछि अदालतले मुद्दालाई साप्ताहिक पेसीमा राख्दै अन्तिम बहस सुरु गर्ने तयारी गरेको हो। कानुन व्यवसायीहरूको भनाइमा कुनै अवरोध नभए अब निरन्तर सुनुवाइ हुँदै टुङ्गो लाग्ने अपेक्षा गरिएको छ।
यसअघि तत्कालीन जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकाहरूलाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश दिएको थियो। केही अभियुक्त धरौटीमा रिहा भए पनि धेरैजना अझै थुनामै छन्।
यो मुद्दा २०८२ साल वैशाखयता मात्रै १० पटक साप्ताहिक र १६ पटक पूरक पेसीमा चढिसकेको छ। जिल्ला सरकारी वकिल कार्यालयले १० जेठ २०८० मा ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्ध अपराधका अभियोगसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। पूरक मुद्दासहित प्रतिवादी संख्या ३१ पुगेको छ।
उच्चस्तरीय संलग्नतामा पूर्व उपप्रधानमन्त्री रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्व गृहमन्त्री खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा र उनका सल्लाहकार इन्द्रजित राईलगायत छन्।
त्यस्तै, बिचौलिया र सहायकको भूमिकामा केशव दुलाल, दीपा हुमागाईं, सानु भण्डारी, टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल, विनीता सावदेन लिम्बु, सागर राई, आशिष र सुनिल बुढाथोकी, रामशरण केसी, सन्देश शर्मा, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र टेकनाथ रिजालसमेत मुछिएका छन्।

























