जोडिनुहोस
  • होमपेज
  • संरक्षणका अभावमा हुलाकी सडक किनारका बिरुवा ओइलाए

संरक्षणका अभावमा हुलाकी सडक किनारका बिरुवा ओइलाए

सिरहा। हुलाकी सडकअन्तर्गत सिराहाको औरही, बरियारपट्टि, तथा नवराजपुर गाउँपालिका क्षेत्रका सडक किनारमा वृक्षरोपणका लागि खर्च गरिएको लाखौँ रुपैयाँ बराबरको लगानी संरक्षणको अभावमा खेर गएको छ ।

डिभिजन वन कार्यालय लहानले पछिल्ला दुई आर्थिक वर्षमा करिब ५१ लाख खर्च गरेर रोपेका अधिकांश बिरुवा सुकिसकेका छन्भने बाँचेका बिरुवा पनि ओइलाउने अवस्थामा पुगेका छन् ।

आर्थिक वर्ष ०८१/८२ मा बरियारपट्टि गाउँपालिका क्षेत्रमा ३९ लाख खर्चेर चार हजार ६५० बिरुवा रोपिएको थियो । जसमध्ये रु २५ लाख बजेटमा बेर्नासहित र १४ लाख बजेतमा बेर्नाविना आँप, गुलमोहर, जामुनसहितका बिरुवा रोपिएको भए पनि आधाभन्दा बढी बिरुवा सुकिसकेको डिभिजन वन कार्यालयको प्रारम्भिक अध्ययनमा देखिएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०८०/८१ मा औरही गाउँपालिका क्षेत्रको साढे छ किलोमिटर सडक किनारमा रु १२ लाख ५० हजार खर्चिएर गरिएको वृक्षरोपणमा समेत ठूलो संख्यामा बिरुवा सुक्न पुगेका छन् । कतिपय स्थानमा घारी र झाँडीले जेलेको अवस्था छ ।

औरही गाउँपालिका–४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले गणेशपुर चोक क्षेत्रमा रोपिएका करिब ५०० बिरुवामध्ये जम्मा ८०/९० वटा बिरुवा मात्र बाँचेको बताए । उनले भने, “वनले वृक्षरोपण त गर्छ, तर संरक्षणका लागि बजेट र कार्यक्रम नै राख्दैन लाखौँ खर्चिएर बिरुवा रोप्ने मात्रै काम भइरहेको छ ।”

सहजा जरुवा खोलाको किनारमा टाँगिएको होर्डिङ बोर्डमा वृक्षरोपण विवरण त उल्लेख छ, तर वरपर बिरुवाको नाम निसान छैन । स्थानीय बासिन्दा चन्द्रदेव यादवले चिन्ता व्यक्त गर्दै भने, “वनको कागजमा बिरुवा देखिन्छ, तर जमिनमा हुँदैन । बिरुवा रोपिसकेपछि त्यसको संरक्षण पनि उत्तिकै जरुरी हुन्छ, तर त्यसमा ध्यान दिइएको पाइएन ।”

अर्का स्थानीय सुनील यादवले वृक्षरोपण सफल बनाउन जनचेतनाको आवश्यकता औँल्याए । उनले बिरुवा हुर्किएर रुख भएपछि स्थानीयले नै लाभ उठाउँछन् भन्ने कुरा स्थानीयलाई बुझाउनुपर्नेमा जोड दिए ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले भने स्थानीयको असहयोगका कारण बिरुवा संरक्षणमा समस्या आएको बताए । उनले भने, “बिरुवा उखेल्ने, ट्रिगार्ड चोर्ने, पानी हाल्न नदिनेजस्ता व्यवहारले धेरै बिरुवा नष्ट भएका छन् ।” उनका अनुसार बलौटे माटो, पानीको अभाव, गाईबस्तुको चरिचरण र मानिसको आवतजावतका कारण सडक किनारमा बिरुवा हुर्काउन थप चुनौती रहेको छ ।

उनले भने, “अबदेखि रोपेपछि सम्बन्धित वडा कार्यालयसँग समन्वय गरेर हेरचाहको लागि छुट्टै बजेट विनियोजन गरिन्छ ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका