समाचार
कांग्रेस कार्यबाहक सभापति खड्कापछि कोइरालाकहाँ डेलिगेशन लिएर पुग्यो विशेष महाधिवेशन पक्षधर

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर नेताहरू संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालाकहाँ डेलिगेशन लिएर पुगेको छ।
सोमबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेर जसरी पनि विशेष महाधिवेशन हुनुपर्ने र त्यो २१ फागुनको निर्वाचनअघि नै सम्पन्न गराउनका लागि उनीहरुको जोड छ।
नेता गुरुराज घिमिरे, मनोजमणि आचार्यलगायतको समूह विशालनगर पुगेको थियो।
नियमित महाधिवेशन निर्वाचन अघि पुसमा गर्ने नयाँ प्रस्तावमा पनि कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति हुन नसकेपछि केन्द्रीय समितिको बैठक स्थगितमाथि स्थगित भएको छ।
विशेष महाधिवेशन पक्षले मंगलबारका लागि भेला बोलाएको छ। उक्त भेलाले दबाब सृजना गर्ने तयारी गरेको छ। यो समूह यसअघि कार्यबाहक सभापति खड्काकहाँ पनि डेलिगेशन दिन पुगेको थियो।
उता विशेष महाधिवेशनको पक्षमा महामन्त्री गगनकुमार थापा उत्रिएका थिए। उनीलगायत अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग कुरा नमिल्दा केन्द्रीय समिति बैठक बस्न सकेको छैन।
थापाले केन्द्रीय समितिको बैठकमा विशेष महाधिवेशनको कार्यतालिका नै प्रस्तुत गर्ने तयारी गरिसकेका छन्। संस्थापन पक्ष यसलाई रोकेर बैशाखमा महाधिवेशन गराउने पक्षमा छ।



































