
नवलपरासी। निर्माणाधीन बुटवल नारायणगढ सडकको दुरावस्थाका कारण लाखौं मूल्यका डायलासिस मेसिनमा क्षति पुगेको छ । जर्मनीमा रहेका चिकित्सकहरूको संस्थाले रोटरी क्लब धुलिखेललाई उपलब्ध गराएका ६ वटा जर्मन डायलासिस मेसिन स्वास्थ्य मन्त्रालयमार्फत बर्दघाट नगरपालिकालाई हस्तान्तरण गर्न पठाइएको थियो । तर सडकको खाल्डाखुल्डीका कारण तीमध्ये ४ वटा मेसिन फुटेका छन् ।
बर्दघाट नगरपालिकाको सहिद स्मृति अस्पतालमा ल्याइएका मेसिन खोल्ने क्रममा ४ वटा फुटेको पाइएको हो । रोटरी क्लब धुलिखेलका पूर्वअध्यक्ष अशोक श्रेष्ठका अनुसार, मेसिनहरू निकै सुरक्षित साथ ल्याइएको भए पनि सडकका कारण क्षति पुगेको हो । एउटा मेसिनको मूल्य करिब १५ लाख रुपैयाँ पर्ने उनले बताए ।
दाउन्ने क्षेत्रमा सडक खराब भएका कारण मेसिन फुटेको हुनसक्ने अनुमान गरिएको छ । तत्काललाई बर्दघाट नगरपालिकालाई ४ वटा मेसिन हस्तान्तरण गरिए पनि ती मेसिन पनि टुटफुट भएको हुनसक्ने आशंका गरिएको छ । मेसिनहरू पुनः प्रयोग गर्न नमिल्ने गरी फुटेको खण्डमा सट्टाभर्ना हुने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताएका छन् ।





































