
रौतहट। जिल्लास्थित सीमा क्षेत्रमा हुने अनियमित एवं गैरकानुनी गतिविधि रोकथाम, विपद् उद्धार तथा राहत वितरण र दुर्घटनामा परेकाको उद्धारमा सशस्त्र प्रहरी बल रौतहट सक्रिय बनेको छ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतका अनुसार पछिल्लो साढे पाँच महिनाको अवधिमा सीमा क्षेत्रमा अवाञ्छित गतिविधि रोकथाम र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले उल्लेख्य सक्रियता देखाएको छ।
‘विभिन्न ४० स्थानमा भएका आगलागी नियन्त्रणदेखि खोलाले बगाएका आठ जनाको उद्धारसम्म सशस्त्र प्रहरी जुटेको छ,’ प्रमुख बस्नेतले जानकारी दिए, ‘विपद्सँग जुध्ने खालका काममा हाम्रो टोली निरन्तर सक्रिय छ।’
उनका अनुसार पछिल्लो समय मात्र पाँच सय ८० जना सशस्त्र प्रहरी कर्मचारीलाई जिल्लाका विपद् प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
गत शनिबार चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेका भारत बिहारका रोहितकुमार सिंहको शव फेला पारेर परिवारलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ। मादकपदार्थ सेवन गरी नदीमा बेपत्ता भएका ३० वर्षीय सिंहको शव उद्धार गरिएको हो।
त्यस्तै साउन ९ गते बागमती नदीमा हराइरहेका भारत मुतहीका पवनकुमार साह र घुरघुराका नीतिसकुमार राउतको शव पनि फेला पारेर आफन्तलाई जिम्मा लगाइएको प्रमुख बस्नेतले जानकारी दिए।
यसैबीच, ईशनाथ नगरपालिका–८ मन्सरी टोलका किसान शेख जाफिरको धानखेतमा पानी लगाउने क्रममा विद्युतीय करेन्ट लागेर निधन भएको छ। करेन्ट लागी गम्भीर घाइते भएका जाफिरको उपचारका क्रममा प्रदेश अस्पताल गौरमा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





































