
काठमाडौं । बिरामी बोक्ने उद्देश्यले प्रयोग हुने एम्बुलेन्सलाई लागुऔषध तस्करीमा प्रयोग गरिएको खुलासा भएको छ। सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारी क्षेत्रबाट भारततर्फ जाँदै गरेको एउटा भारतीय नम्बरको एम्बुलेन्समा १८० किलो गाँजा बरामद भएको हो।
बिहार राज्यको नम्बर प्लेट रहेको बिआर ३८ पी ५४१४ नम्बरको उक्त एम्बुलेन्समा ठूलो मात्रामा गाँजा लुकाएर तस्करी गरिँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त सवारीसाधन नेपाली चालक राजकुमार साहको नियन्त्रणमा थियो।
घटनासँग सम्बन्धित एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरी कार्यालयले जनाएको छ। पछिल्लो समय तराईका जिल्लाहरू हुँदै भारततर्फ लागुऔषध ओसारपसारमा एम्बुलेन्सको दुरुपयोग हुने क्रम बढ्दो छ। यसले सुरक्षासंस्थालाई थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।





































