
काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानीको अभाव रहेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गरेका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘काठमाडौंको सुकुमवासी बस्तीमा खानेपानी छैन । सरकारलाई सोध्न चाहन्छु– खानेपानी किन रोक्नुभयो ?,’ उनले प्रश्न गरे ।
खानेपानीको उपलब्धता मौलिक हक भएको उल्लेख गदै उनले भने, ‘के सुकुमवासी नागरिक होइनन् ?’ सुकुमवासी बस्तीमा खानेपानीको उपलब्धताका निम्ति सरकारलाई रुलिङ गर्न उनले सभामुखसमक्ष आग्रह समेत गरेका छन् ।
‘सरकारले मानवता विरोधी गतिविधि गरेको आभास हुन्छ । यसमा (खानेपानीको उपलब्धताका लागि) सरकारलाई रुलिङ होस् । तुरुन्तै खानेपानीको उपलब्धता होस्,’ उनले भने ।





































